•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरियाली विद्रोही नियन्त्रित पूर्वी सहर गुटा र वरपरको क्षेत्रमा युद्धविरामको समयमा पनि सिरियाली सरकारले गरेको रकेट आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

उक्त क्षेत्रमा संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार युद्धविराम घोषणा गरिएको भए पनि सिरियाली सरकारले हवाई कारबाही जारी राखेको हो। सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही मंगलबारदेखि ५ घन्टाका लागि मात्र बन्द गर्ने सहमति भएको थियो। गएको हप्ता दिनदेखि जारी सो कारबाहीमा ५५० सर्वसाधारणको मृत्यु भएपछि रुस सरकारले मंगलबारबाट ५ घन्टा युद्धविराम गर्ने निर्णय गरेको थियो।

मानवीय सहयोगका लागि राष्ट्रसंघको प्रस्तावमा भएको युद्धविराम कार्यान्वयनमा आएको भन्ने रसियाली घोषणाका बाबजुद पनि सिरियाली बसर अल–असद सरकारले आक्रमण जारी राखेको सिरियाको मानव अधिकारको अनुगमन गरिरहेको संस्थाले जनाएको छ।

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाको द्वन्द्व अनुगमन समूहले युद्धविराम कार्यान्वयनमा आएको भनी घोषणा गरेपछि मृत्यु हुने पहिलो व्यक्ति जिसरिनका एक बालक भएको जनाएको छ। उक्त घटनामा सात अन्य व्यक्ति घाइते भएका छन्।

जारी हमलामा मारिएका सर्वसाधारणमा एक चौथाइ बालबालिका रहेका छन्। सिरियामा जारी ७ वर्ष लामो यस द्वन्द्वमा गुटा नगरमा भएको यो काण्ड अत्यन्त रक्तपातयुक्त भएको पनि बताइएको छ।

सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरका ४ लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here