काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म २.७ किलोमिटर सुरुङ बनाउन १३ अर्ब ५० करोड रुपैयाँमा सम्झौता भएको छ।
सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्नेछ।
नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार सुरुङ निर्माणका लागि ठेकेदार कम्पनीसँगको सम्झौतामा हस्ताक्षर गरेका सडक विभाग, विकास सहयोग कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले नागढुंगा–सिस्नेखोलामा दुईवटा सुरुङ निर्माण हुने बताए। ‘२.७ किलोमिटरमध्ये ठूलो सुरुङको चौडाइ नौ मिटर र सानोको चार मिटर हुनेछ,’ उनले भने।