• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा शनिवार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् ।

नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तराष्र्टि«य विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् । चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण सुरु भएको छ ।

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।
विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विशेषगरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन् । विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिङ्गारिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here