काठमाडौं । राष्ट्रिय सभा बैठकमा कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद खिमलाल भटराई प्रस्तावक र नेपाली काँग्रेसकी सरिता प्रसाईं समर्थक रहेको कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव राष्ट्रिय सभा बैठकमा बिहिबार दर्ता भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा माननीय खिमलाल भटराई प्रस्तावक र माननीय सरिता प्रसाई समर्थक रहेको राष्ट्रिय संकल्प प्रस्ताव दर्ता भएको जानकारी दिएका छन् ।
भटराईले सो प्रस्ताव सभामा प्रस्तुत गर्दै भने, ‘आजको संकल्प प्रस्ताव यसलाई हामीले राष्ट्रिय एकताका साथ निकास दिने हिसाबले अघि बढौं,’।
यसैक्रममा, काँग्रेसकी प्रसाईंले त्यसको समर्थन गर्दै भनिन्, ‘यो राष्ट्रिय मुद्दा भएकोले यसमा सबै एकजुट हुनुपर्ने हुँदा हामीले यसलाई संयुक्तरुपमा प्रस्तुत गरेका हौं,’।