• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा वागमती प्रदेश सरकारले आज शनिबार परेकोले हिजो (शुक्रबार) नै सार्वजनिक विदा दिएको थियो ।

सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक तथा साँस्कृति पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।
चन्द्र मासमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ समुदायले सुंगु (ढ्वा ल्हो) वर्षलाई विदाई गरी मुसा (नाम्युङ) वर्षलाई स्वागत गरेका छन् । यो २८५६ औं सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।
हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।
ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भनिएता पनि नआउने भएको छ । कार्यक्रमको उद्घाटन साँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले गरिने भएको छ ।
बिहान ११ बजे शान्तिबाटिका रत्नपार्कबाट निकालिने झाँकीसहितको र्‍याली दिउँसो १ बजे टुँडिखेलमा पुगेर सभामा परिणत हुने ल्होछार मूल समारोह समितिका संयोजक नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।
ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र बिभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् । temal Online
  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here