महोत्तरी —
विजय जुलुसमा झडप हुँदा ७ जना घाइते भएका छन् । महोत्तरी–१ बाट निर्वाचित एमालेका लक्ष्मी महतोको विजय जुलुसमा झडप भएको हो । जुलुसमा सहभागी गौशाला–२ निगौलका वडाध्यक्ष श्यामसुन्दर मण्डल नेतृत्वको समूहले प्रतिस्पर्धी दलका व्यक्तिलाई कुटपिट गरेको थियो ।
मंगलबार राति साढे ८ बजे वडाध्यक्ष मण्डलको टोलमा लक्ष्मी महतोले जितेको खुसियालीमा दीप प्रज्वलन गरिएको थियो । त्यसपछि डिजे बजाएर टोल घुम्ने क्रममा एक किराना पसलको अगाडि बसिरहेका कमलेशकुमार मण्डल, वीरेन्द्र मण्डल र राकेश महतोमाथि वडाध्यक्ष मण्डलसहित २०र३० जनाको समूहले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

अचानक डिजे लिएर आउनेहरूले आफ्नो पसलमा बसिरहेका मानिसमाथि कुटपिट गरेको र आफूलाई पनि अपमानजनक व्यवहार गरेको किराना पसल सञ्चालक केवला देवीले बताइन् । भाग्न खोज्दा पसलेको घरभित्रै गएर ढोकासमेत फोडी आफूमाथि कुटपिट भएको घाइते कमलेशकुमार मण्डलले बताए । उनको गाला र कानमा चोट लागेको छ ।

गौशाला–२ कै रामछविला साह घटना भएको ठाउँमा हेर्न गएको बेला आफूमाथि आक्रमण भएको बताउँछन् । उनको टाउकोमा चोट लागेको छ । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा गएका साहमाथि पुनः अस्पतालमा पनि हातपात भएको साहले बताए । उनको टाउकोमा ६ वटा टाका लगाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
उपचारका लागि अस्पताल गएका घाइतेलाई पुनः त्यही समूहका केही मानिस गएर साढे ११ बजे राति पुनः हातपात गरेका पीडितहरूले बताएका छन् । प्राथामिक केन्द्रमा उपचाररत रहेका घाइतेमाथि मध्यरातमा मानिस आएर कुटपिट गरेका प्राथमिक केन्द्रका स्वास्थ्यकर्मी राजीव साहले जानकारी दिए ।

 

अस्पतालमा पनि वडाध्यक्ष नेतृत्वको टोलीले पुनः हातपात गरेको र आफूसँग भएको मोबाइल र ४० हजार रकम पनि लिएको घाइतेका आफन्त दिनेशकुमार सिंहले बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई लिएर आफूहरूमाथि हातपात भएको पीडितहरूले बताएका छन् ।

निर्वाचित महतोको पकेट मत क्षेत्र मानिएको गौशाला–२ मा ३२ सय मत खसेको थियो । त्यसमध्ये २५ सय मत महतोलाई खस्नुपर्ने दाबी गरिए पनि १८ सय मत मात्रै परेको थियो । विपक्षी गठबन्धनले भोट बिगारेको भन्दै गठबन्धनमा सहभागी भएकै आधारमा कुटपिट भएको आरोप पीडितहरूको छ ।

वडाध्यक्ष मण्डलले आफूहरूको समूहले कुटपिट नगरेको दाबी गरे । दीप प्रज्वलनपछि विजय उत्सवमा निस्केको डिजेसहितको टोलीलाई विपक्षीको घरआँगन नजिक जान नदिने गरी अवरोध गरेपछि दुवै पक्षबाट हातपात भएको उनको भनाइ छ । उनले आफ्नो समूहका ३ जना घाइते भएको जानकारी दिए ।

पीडितहरूले प्रहरी र प्रशासनले साथ नदिएको बताएका छन् । प्रहरीले भने दुवैतर्फबाट झडप भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले अहिले कसैलाई पक्राउ गरिहाल्ने अवस्था नरहेको जनाएको छ । यसबारे अनुसन्धानपछि दोषीमाथि कारबाही हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पँगेनीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय