
धनकुटा,
लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिदा धनकुटाको चौबिसे गाउँपालिका–१ स्थित बुधवारेबजारमा ६ जनाको मृत्यू भएको छ ।
गएराति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा वर्ष ६० का भीमबहादुर श्रेष्ठ, वर्ष ९ को नाति विनोद श्रेष्ठ, वर्ष ५ की नाति निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का वर्ष ३९ का संजीव श्रेष्ठ, वर्ष ३८ की लक्ष्मी श्रेष्ठ र वर्ष ७ का दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दिपक कुमार रायाले बताए । सोही घटनामा परी ६ जना घाईते भएका छन् । घाईते मध्ये वर्ष ३१ का भेषबहादुर श्रेष्ठ, वर्ष २९ की लिला श्रेष्ठ र वर्ष ५४ की गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले बताए ।
गम्भीर घाईते सहित अन्य घाईते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ को संजाल श्रेष्ठ र वर्ष २८ को चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्दार गरी उपचारको लैजान सेनासँग समन्वय भईरहेको डिएसपी रायाले बताए । घटनास्थल बुधवारे प्रहरी चौकीदेखि ४ किलोमीटर टाढा रहेको छ । यसैबीच सोही वडाको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पूर्णरुपमा बगाएको छ । तर मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् ।
यता वर्षासँगै आएको वाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मीटर सडक लेउती खोलाले बगाउँदा हिजो (मंगलबार) देखि नै सडक अवरुद्ध रहेको छ । अहिलेसम्म पानीको सतह नघटेकाले तत्काल बाटो खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । सडक बगाएको आसपासको क्षेत्रमा दर्जनौ स्थानमा सडक भत्किएकाले पानीको सतह घटेपछि मात्र सडक डाइर्भसनको कार्य शुरु हुने प्रजिअ पन्थले बताए ।
यसका साथै जिल्लाका सहायक राजमार्गहरु भेडेटार राजारानी नम्बर बुधवारे राँकै रबि सडक, तमोर करिडोर, हिले लेगुवा भोजपुर सडक पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।