खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटारमा एमालेले  महिला मात्रै रहेको वडा कमिटी निर्माण गरेको छ । अाईताबार  सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीको अन्त्य गर्दै यस वडामा महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडा अध्यक्षमा निर्वाचित भलाराज राईले बताउनु भयो । उहाँका अनुसार वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी बिकलाई चयन गरिएको छ ।यसैगरी सदस्यमा समिता राइ, सर्मिला राई, यसोदा अधिकारी, कमला अधिकारी, यसोदा बिक, प्रेम कुमारी बिक, प्रमिला राई, मनु सरि राई, रमिता राई, शिबसरी राई, प्रभा राई, यामुना राई, सपना राई, पबिना राई, कल्पना राई, सर्मिला माझी, इन्दु कुमारी राई, साबित्रा बिक, अनुसा राई, गङ्गा कुमारी राइ चयन हुनुभएको छ । सो अधिवेशनको प्रमुख अतिथि पनि महिला नेतृ तथा उपमेयर बिना देवी राई हुनुहुन्थ्यो ।‘महिलालाई अवसर दिनुहुँदैन, महिलाले केही गर्न सक्दैनन्’ भन्ने पुरुषवादी सोचको अन्त्यका लागि पार्टीको वडा कमिटीको ‘स्टेरिङ’ महिलालाई दिइएको वडा अध्यक्ष राईले बताउनु भयो । ‘महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ, अवसर दिनुपर्छ भन्ने सोच त छँदै छैन । यो पुरातन सोच त्याग्नुपर्छु, राईले भन्नुभयो, ‘हामीले इतिहास रच्ने प्रयास गरेका हौँ । महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण देखाउन खोजेका छौँ ।’११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, दुर्छिम र धितुङको वडा अधिवेशन सोमवार हुने एमालेले जनाएको छ । विवादका कारण राजापानीको वडा अधिवेशन भने मंगलवार पालिका अधिवेशनकै दिन टुंग्याउने सहमति बनेको नगरपालिकाका एमाले नेता एवं युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय