घान्द्रुकमा सोमबार जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौ जना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।

सबै शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए । ‘एकजना महिला बाँच्न सफल हुनुभएको छ । अरु सबैको घटनास्थलमै मृत्यु भयो,’ उनले भने, ‘पोष्टमार्टमका लागि गाडीमा हालेर गण्डकी अस्पताल पठाएका छौं ।’ उनीहरू दसैंको समयमा काठमाडौंबाट घुम्न आएका थिए ।

मृत्यु हुनेमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका नयाँ पुल बस्ने वर्ष ४२ का खुसीमान क्षेत्री, काठमाडौं गंगबुका वर्ष १८ का जिनलव घिसिङ, वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ का अछुतम काफ्ले, वर्ष १८ का आशिष आले, वर्ष २७ का विनय क्षेत्री छन् ।

गंगबुकै वर्ष २० की देविका घिसिङको भने बायाँ हात र नाकमा सामान्य चोट लागेको र भिरमा अड्किएको अवस्थामा भेटिएर प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय