अर्थमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ ।
आज बिहीवार काठमाण्डौमा आयोजित जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालीन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताउनुभएको हो । प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उहाँको भनाइ छ । यसलाई केही पनि होइन जस्तो गरी फ्याँक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उहाँले बताउनुभयो ।
अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गर्नुभयो । माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रूपमा अस्पष्ट भएको उहाँले बताउनुभयो । उहाँले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गर्नुभयो ।
अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ । त्यसको सही सदुपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापी दियौँ । मानौँ त्यो केही पनि थिएन । त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरूको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याँकी दियौँ । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्यो । । त्यसलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याँक्नुको कारण आज निराशा पैदा भएको हो ।’
उहाँले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताको पक्षमा नयाँ जागरण ल्याउनुपर्ने बताउनुभयो । देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।












