विराटनगर ,
राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नेकपा एमालेबाट अन्यतर्फको सदस्यमा गुरुप्रसाद बराल, महिला कोटामा सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम गेल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन् ।सत्तारुढ गठबन्धनको तर्फबाट अन्य कोटामा नेपाली कांग्रेसका गोपाल बस्नेत, महिला कोटामा एकीकृत समाजवादीका जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अन्यतर्फको सदस्य र महिला सदस्यमा उम्मेदवारी दर्ता गरेको छ । अन्य कोटामा अम्बरबहादुर बिष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दर्ता गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी ३६४ मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ हुन्छ ।

५० प्रदेश सांसद र १२६ पालिका प्रमुख÷उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख÷उपप्रमुख रहेको एमालेसँग ४५२४ मतभार छ । एक सांसद र चार प्रमुख÷उपप्रमुख रहेको राप्रपाको मतभार १२० छ ।

प्रदेश १ का एमाले नेताहरुले राप्रपासँग सहकार्य गर्ने र आफ्नो पार्टीका उम्मेदवार जित्ने दाबी गर्दै आएका थिए । तर राप्रपासँग सहकार्य हुने वा नहुने अहिलेसम्म टुंगिएको छैन । सहकार्यको सम्भावनालाई नकार्न नसकिने राप्रपाका नेताहरु बताउँछन् ।

मंगलबार दिउँसो मनोनयन दर्ताका लागि सत्ता पक्षका उम्मेदवार तामझामसहित प्रदेश निर्वाचन कार्यालय पुग्दा एमाले भने सामान्य ढंगले गएको थियो ।सत्ता पक्षका उम्मेदवार संयूक्त रुपमा मनोनयन दर्ताका लागि पुगेपछि गठबन्धनका कार्यकर्ताले नाराबाजी गरे । मनोनयन दर्ताका क्रममा माओवादीका नेताहरु भने निर्वाचन कार्यालय गएनन् ।

एमालेका उम्मेदवार केही नेता कार्यकर्ता मात्रै लिएर पुगेका थिए । एमालेका नेता भानुभक्त ढकाल, लालबाबु पण्डित, हिक्मतकुमार कार्की, विनोद ढकाललगायत निर्वाचन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय