काठमाण्डौ,
ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले अध्ययन गरेको बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन आज बिहीवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौलाई बुझाएको हो । ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्युरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताउनुभयो । उहाँले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ । दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरू डिर्पोट गर्छौँ । सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ ।’

सहन्यायाधिवक्ता पौडेलले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय