नेकपा एमालेको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी भएका छन् । शुक्रबार शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिएपनि आइतबार दिउँसोसम्म सहमति जुटन नसकेपछि साँझ चुनावी प्रक्रिया शुरु भएको थियो ।सोमबार सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्ण पाठकलाई सयभन्दा बढी मतान्तरले पराजित गरे । अध्यक्ष पदका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा विजयी भएका केसीले ३ सय २९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी पाठकले २ सय २८ मत ल्याए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले जम्मा ३४ मत मात्र पाए ।

बागलुङमा यसअघिका जिल्ला अध्यक्ष पनि १० बुँदे पक्षधर इन्द्रलाल सापकोटा थिए । एमालेको तत्कालीन माधवकुमार नेपाल समूह गण्डकी प्रदेशमा निकै कमजोर थियो । गण्डकीका ११ वटा जिल्लामध्ये बागलुङमा मात्रै इन्द्रलाल सापकोटाले नेतृत्व गरिरहेका थिए । प्रदेशसभामा पनि नेपाल समूहका सापकोटा मात्र थिए । २ भदौमा माधवकुमार नेपालले नयाँ पार्टी बनाउँदा सापकोटा भने पार्टी एकताका लागि भएको १० बुँदेको पक्षमा उभिए ।

केन्द्रीय सदस्य भएपछि सापकोटाले केही समयअघि पाठकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । बागलुङका एक एमाले नेताका अनुसार कमिटीमा सम्भव भए सहमतिबाटै र नभएको पदमा चुनावबाट दशबुँदे पक्षधरलाई नेतृत्वमा ल्याइएको छ, यसले पार्टीको विवाद मिलानमा नयाँ सन्देश दिएको छ ।

बागलुङ १० बुँदे पक्षधरको जितको अर्को कारण गण्डकीका दुई नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्रतिष्ठाको लडाइँ पनि हो । एक नेताका अनुसार प्रष्ट प्यानल बनेपछि गण्डकीका निवर्तमान मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङले १० बुँदे पक्षधरको टिमलाई साथ दिएका थिए ।

‘एक त शुरुदेखि नै उहाँहरु एकताबद्ध हुनुहुन्थ्यो । त्यसमाथि खगराज कमरेड र पीएस कमरेडको लडाइँले उहाँहरुलाई फाइदा पुग्यो,’ बाग्लुङका एक एमाले नेताले भने, ‘पीएस कमरेडले केसीको टिमलाई साथ दिएको पक्का हो ।’

उपाध्यक्ष र सचिवमा पनि दशबुँदे पक्षका नेताहरु क्रमशः लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल निर्विरोध चयन भएका छन् । यस्तै उपसचिवमा गणेशबहादुर थापा र डम्मर छन्त्याल विजयी भएका छन् । उपसचिवका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा थापाले २९९ मत ल्याउँदा श्रीसले २२८ मत ल्याएका थिए ।

५ जिल्लामा नेतृत्व टुंगो

बागलुङको मतपरिणाम सार्वजनिक भएसँगै गण्डकी प्रदेशका ५ जिल्लामा एमालेको नेतृत्व चयन पूरा भएको छ ।

एमालेको जिल्ला अधिवेशनले गोरखामा प्रेम गुरुङ, लमजुङमा कृष्ण अधिकारी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ र म्याग्दीमा देवेन्द्र कटुवाललाई अध्यक्ष चयन गरेको छ ।

चुनावी प्रक्रियाबाटै नेतृत्व छान्ने तयारी भइरहेको कास्कीमा भने अझै नेतृत्व चयन भइसकेको छैन । कास्की जिल्ला अध्यक्षका आकांक्षी मनबहादुर गुरुङलाई पृथ्वी सुब्बा गुरुङ र दामोदर बैरागीलाई खगराज अधिकारीको साथ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय