धनकुटा ,
२८५८ ताक ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसरमा यहाँ आयोजना गरिएको एक औपचारिक कार्यक्रममा फोनिज १ नम्वर प्रदेश अध्यक्ष सन्तवीर लामा सहित निजामती सेवाका ६ जना राष्ट्रसेवक कर्मचारीहरुलाई वुधवार सम्मान गरिएको छ ।
नेपाल तामाङ जिल्ला समन्वय समितिको आयोजना र म्हानिपा घेदुङ धनकुटाको व्यवस्थापनमा सम्पन्न शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा फोनिजका प्रदेश नं.१ अध्यक्ष लामा सहित तामाङ कुलमा जन्मिएर निजामती सेवामा धनकुटामा सेवारत ६ जना राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा सम्मानति हुनेहरुमा धनकुटा न.पा.४ देव्रेवास घर भई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका कार्यरत पशु विकास अधिकृत नविन तामाङ वैध, अरुण गाउँपालिका वडा नं.५ भोजपुर घर भई हाल मालपोत कार्यालय धनकुटामा नायव सुव्वा पदमा कार्यरत मकर थोकर तामाङ रहेका छन् । त्यसैगरी पाख्रीवास नगरपालिका वडा न.९ घर भै हाल धनकुटा नगरपालिका कार्यालयमा महिला वालवालिका शाखामा नायव सुब्बा पदमा कार्यरत फूलमाया घिसिङ तामाङ, धनपा–१ हिले घर भै पाख्रीवास नगरपालिका कृषि शाखामा प्राविधिक सहायक पदमा कार्यरत इन्द्रमाया योन्जन तामाङलाई सम्मान गरिएको छ ।
त्यसैगरी सिन्धुपाल्चोक जिल्ला, लिसंखु पाखर गाउँपालिका वडा नं.६ स्थायी घर भै हाल वरखगण सल्लेरी व्यारेक धनकुटामा कार्यरत उप–सेनानी प्रेमवहादुर वम्जन, धनपा–३ पात्ले घर भै हाल पाख्रीवास नगरपालिकामा कृषि शाखाको प्रमुख भै प्राविधिक सहायक पदमा कार्यरत गोर्खवहादुर तामाङलाई सम्मान गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गएको पौष–२७ र २८ गते मोरङ जिल्लाको पथरीमा सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट प्रदेशको अध्यक्ष पदमा निर्वाचित भएको भन्दै सन्तवीर लामालाई जिल्ला घेदुङ धनकुटा र म्हानिपा घेदुङ धनकुटाको तर्फबाट सम्मान गरिएको थियो ।
सम्मानतिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, घेदुङका संघिय सदस्य लालचन्द्र गोङवा तामाङ, जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान तामाङ लगायतले खदा लगाएर सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले घेदुङले साँस्कृतिक पुर्नजागरणको अभियान ल्याएपछी तामाङ जातिको पुर्खाले विकास गरेर ल्याएको संस्कृतिहरुलाई आजको पुस्ताले अवलम्वन गरेर जातिय पहिचान स्थापित गर्न सफल भएको वताए । खासगरी तामाङ जाति राज्यबाट प्रताडित भएका जाति भएको वताउँदै प्रमुख तामाङले भने–‘हामीलाई राज्यले १ सय वर्षसम्म पढ्न लेख्न दिएन ।’

उनले तामाङ जातिलाई सरकारी जागीर खान दिएन, सेनामा पनि पिपा गोस्वाराको मात्र जागीर खानु पर्दथ्यो भन्दै तामाङले थपे–‘गृवार्णयुद्ध विक्रम शाहाको पालामा पिपा गोस्वारामा काम गर्ने तामाङ सेनाहरुले विद्रोह गरेछन, तर तामाङ सेना सफल हुन सकेन्न, त्यस पछि झन तामाङहरुलाई दमन गरियो ।’ त्यो विद्रोह पछि सिङ्गो तामाङ जातिलाई सरकारी नोकरी, सेना लगायत राज्यको निर्णायक ठाउँमा काम गर्न नदिएको कारण तामाङ जाति पछि परेको इतिहाँसको प्रमुख तामाङले स्मरण गराए । अहिले पनि तामाङ जातिलाई नेपाली सेनामा ठूलो ठूलो पदमा पुग्न नदिएको केही षडयन्त्रका उदाहरण समेत प्रश्तुत् गरे ।

तामाङले अब देशमा गणतन्त्र आईसकेको,मुलुकमा समावेशी संविधान बनि सकेकाले यसलाई टेकेर तामाङ जातिले आफ्नो क्षमता वनाएर देश र जनताको सेवा गर्न अवको दिनमा पछि पर्न नहुने ठोकुवा गरे । मुख्य कुरा आजको आवश्याक्ता भनेको शिक्षा हो, शिक्षा हाशिल गराउन सिङ्गो तामाङ समुदायले आफ्ना छोराछोरीलाई पढाउन सक्नु पर्नेमा प्रमुख तामाङले जोड दिए ।
सो अवसमा घेदुङका संघिय सदस्य लालचन्द्र गोङ्गवा तामाङ, वडा नं.१ वडाध्यक्ष निरेन तामाङ, नेफिन धनकुटाका अध्यक्ष संजय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य राख्दै सम्मानित व्यक्तित्वहरुलाई वधाई ज्ञापन गरेका थिए । जिल्ला घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको तर्फबाट नेपाली सेनाका उपसेनानी प्रेमवहादुर वम्जन तामाङ र धनकुटा नगरपालिकामा कार्यरत फूलामाय घिसिङले आफ्नो विचार राखेका थिए । कार्यक्रममा धर्मगुरुहरु धावा वाङ्गेल मोक्तान र जिन्लाव दोर्जे मोक्तानले शान्तीको लागी मोलमपाठ गर्नु भएको थियो । म्हानिपा घेदुङ धनकुटाका उपाध्यक्ष पेमा लामाको अगुवाईमा म्हानी समुहले टाशी ग्यापा (शुभमंगल पाठ) समेत गरेका थिए । तामाङ डम्फुरेहरु गंगावहादुर तितुङ, दिल वहादुर घिसिङ, सेतुलाल मोक्तान, भुमिश्वरी वम्जन तामाङ लगायतले डम्फू वजाएर साङ्ग सेर्गेम गरेका थिए ।
सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमको औचित्य माथि फोनिजका प्रदेश १ का अध्यक्ष एवंम घेदुङका निर्वतमान जिल्ला सचिव सन्तवीर मोक्तानले प्रकास पारेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला घेदुङका सचिव फुर्वा घिसिङ्गले राखेका थिए भने संचालन तामाङ पत्रकार संघका केन्द्रिय सदस्य एवं जिल्ला घेदुङकी कोषाध्यक्ष मानवी मोक्तानले गरेकी थिईन ।












