काठमाडौं ,
‘माओवादी र मधेस केन्द्रित दल स्थानीय तह नै खारेज गरेर प्रदेश मातहतको स्थानीय निकाय बनाउन चाहन्छन्, त्यसैले निर्वाचन नै हुन नदिएर यसलाई असफल गराउने उनीहरूको नियत छ’, नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुली भन्नुहुन्छ ।

अध्यक्ष पराजुलीले यसमा कांग्रेस कसरी जान्छ भन्ने कुरा हेर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीयता र संविधानले गरेको व्यवस्थालाई जोगाउन एमाले र त्यसका कार्यकर्ता जस्तो सुकै त्याग गर्न पनि तयार छन्, हामी आन्दोलनमा गएर भए पनि स्थानीय तह निर्वाचन गराउन बाध्य पार्ने छौँ ।’

सरकार चुनाव नगर्ने षडयन्त्रमा गयो भने सडक संघर्ष सुरु गर्ने पनि उहाँले बताउनुभयो । संविधान कार्यान्वयन गर्ने र लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्ने कुरामा एमाले सबै हिसाबले अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । ‘यो गठबन्धन लोकतन्त्र र संघीयतालाई नै चुनौती दिने गरी आएको छ, उहाँहरूका पटक पटकका अभिव्यक्तिबाट चुनाव नगराउने नियत प्रष्ट हुन्छ, ढिला सुस्तीले पनि त्यो कुरालाई पुष्टि गर्दै छ’, उहाँले भन्नुभयो ।

लोकतन्त्रको मूल मर्म नै आवधिक निर्वाचन भए पनि गठबन्धन त्यहीसँग डराइरहेको उहाँले बताउनुभयो । ‘कुरा लोकतन्त्रको गर्ने, आवधिक निर्वाचनबाट भाग्ने, यी कस्ता लोकतान्त्रिक पार्टी हुन् उहाँले प्रश्न गर्नुभयो ।

नेकपा एमालेका सबै नेता कार्यकर्ता मानसिक रूपमा निर्वाचनको तयारीमा लागेको उहाँले बताउनुभयो । ‘साङ्गठनिक रूपमा पनि हामी तयारी गर्दै छौँ, धनकुटा जिल्लामा हामीले सबै ६० वटै वडामा पार्टी कमिटी बनाएर निर्वाचनको लागि नेता कार्यकर्ता परिचालन गरेका छौँ’,पराजुलीले भन्नुभयो ।

जिल्लमा रहेका ३ सय ३७ वटा टोलमा समेत टोल कमिटी गठनको काम चलिरहेको उहाँले बताउनुभयो । ‘पार्टीका सबै कमिटी निर्वाचनमुखी भएर अघि बढेका छन्, हामीले त्यही हिसाबले अघि बढ्न तलका कमिटीलाई निर्देशन दिएका छौँ’, उहाँले भन्नुभयो ।

धनकुटा एमाले हिजो पनि गठबन्धन विरुद्ध एक्लै लडेको पार्टी भएको बताउँदै यस पटक पनि एमालेलाई गठबन्धनको कुनै डर नभएको उहाँले बताउनुभयो भयो । ‘हिजो एक्लै लड्दा पनि हामीले जिल्लाका सबै स्थानीय तहमा चुनाव जितेका हौँ, आज त एकतामा आएको माओवादीका झण्डै ८० प्रतिशत नेता कार्यकर्ता हामीसँग हुनुहुन्छ, प्राविधिक रूपले एकादुई वडा तलमाथि भयो भने मात्रै, नत्र हामी यस पटक पालिका प्रमुख, उपप्रमुख र ६० वटै वडामा चुनाव जित्छौँ’, पराजुलीले भन्नुभयो ।

अहिले पनि एमालेमा राप्रपा, कांग्रेस लगायतका दलबाट प्रवेशको लहर चलिरहेको उहाँले बताउनुभयो । यसले पार्टीलाई चुनाव जित्न अझ सजिलो हुने उहाँको दाबी छ ।

धनकुटामा माधव नेपालले गठन गरेको पार्टीको कुनै प्रभाव नरहेको उहाँले जानकारी दिनुभयो । ‘पदीय स्वार्थको कारण केही मानिसहरू केन्द्रीय सदस्य बन्न गए, सानै पार्टीको भए पनि नेता बन्न पाइन्छ भन्ने सोच केही साथीलाई भयो, जनमत उनीहरूको पक्षमा छैन’, उहाँले भन्नुभयो ।
(सनराइज खबरसँगबाट )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय