सैनिक शासन रहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप दुई वटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । आज बुधवार सुनाइएको निर्णयअनुसार सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ ।

गएको वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । सुकीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्नुभएको छ ।नेत्री सुकीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । उहाँलाई भ्रष्टाचार विरोधी ऐनअन्तर्गत मात्रै १२ वटा मुद्दा लगाइएको छ ।

ती सबैमा १५ वर्षसम्मको दरमा जेल सजाय र जरिबाना हुन सक्छ । सुकीका समर्थक र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिकरूपमा प्रेरित रहेका र उहाँलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । सुकीलाई सार्वजनिकरूपमा बोल्न प्रतिबन्ध लगाइएको छ भने उहाँका वकिलहरूलाई पनि मुद्दाकाबारेमा सार्वजनिकरूपमा बोल्ने अनुमति छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय