नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ । हरेक सफल क्रान्तिपछिका १०र१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताउनुभएको हो ।

आज सोमवार गठबन्धनले आयोजना गरेको बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरूले जनताका एजेन्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले ठूला परिवर्तन भएको १०र१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेन्डाहरू बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक आन्दोलनले परिवर्तन ल्याएका पनि छन् । चाहे ७ सालको कुरा गरौँ, चाहे ४६ सालको कुरा गरौँ वा ३६ साल वा २०६२–०६३ सम्म आउँदाको क्रान्तिको कुरा गरौँ । यी सबै ठूला परिवर्तन सम्भव भए । तर ठूला परिवर्तन भएको १०र१५ वर्ष बितेपछि त्यो राजनीतिक परिवर्तन र राजनीतिक एजेन्डाहरू बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको छ । राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु तर जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर भएकै हो । हामीमा त्यो इच्छाशक्ति देखिन सकेन । त्यहाँ अन्तरविरोध भयो । त्यसकै कारणले जहिले पनि देश राजनीतिक अस्थिरतामा गयो ।’

अध्यक्ष प्रचण्डले अहिले पनि एकथरी मानिसहरू राजनीतिक दल र नेताहरूलाई गाली गर्दै आइरहेको भन्दै उनीहरू देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको दाबी गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवम् सुशासनको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धि चाहेको उल्लेख गर्नुभयो । उहाँले स्थिरता र समृद्धिविना संविधानको रक्षा हुन नसक्ने पनि जिकिर गर्नुभयो । उहाँले देशमा सुशासन कायम गर्न कर्मचारीतन्त्रमा सुधार गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय