प्रदेश १ मा नवनियुक्त प्रदेश सभासद्को शपथग्रहणका लागि आह्वान गरिएको छ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सोमबार सूचना जारी गरी नवनियुक्त सांसदहरूलाई पुस ११ गते शपथ ग्रहणका लागि आह्वान गरिएको हो।

शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ।

शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टाअगावै राष्ट्रिय पोशाक वा आ(आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिका लागि अनुरोध गरिएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रदेशसभामा शपथ ग्रहणका लागि आफ्नो मातृभाषामा अनुवाद गरी शपथ ग्रहण गरिने व्यवस्था रहेको जारी सूचनामा जनाएको छ।

‘प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहे त्यस्ता सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उक्त अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा ९२० तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम तीन दिनअगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ।’

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

ज्येष्ठ सदस्य मण्डलले शपथ गराउने
नवनिर्वाचित सभासद्हरूलाई प्रदेश १ मा नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ गराउनेछन्।

नेपालको संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम ज्येष्ठ सदस्यले नवनियुक्त सांसदहरूलाई शपथ गराउने व्यवस्था छ।

मण्डलले सोही दिन साढे १२ बजे प्रदेशप्रमुख पर्शुराम खापुङसमक्ष शपथ ग्रहण गर्नेछन्। उनी ५६ जना प्रत्यक्ष निर्वाचित सांसद र ३७ जना समानुपातिकबाट निर्वाचित सांसदमध्ये ज्येष्ठ सदस्य हुन्। ज्येष्ठ सदस्यले पहिले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्ने र प्रदेशसभाका अन्य सदस्यलाई शपथ गराउने व्यवस्था छ।

निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९ वर्षका हुन्। आयोगमा बुझाएको विवरणमा उनी सबैभन्दा ज्येष्ठ सदस्य निर्वाचित भएको देखिएको छ।

मण्डलले प्रदेशसभा सदस्यहरूलाई शपथ गराउनुका साथै सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको नेतृत्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय