धनकुटा,

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिवार मेला आयोजना गर्न लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी÷कामदार उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउँन सहयोग पुर्याउँदै यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय, बैकिङ्ग, पर्यटन, होटल लगायत क्षेत्रमा रोजगारी उपलब्ध गराउँन तथा साना, घरेलु उद्यमीलाई प्रोत्साहन गर्न मेला फलदायी हुने मेयर तामाङ बताउँछन् ।

‘मेलामा रोजगारीको अवसर खोज्नेहरू पनि आउँछन्, कामदारको खोजी गरिरहेका रोजगारदाताहरू पनि आउँछन्, सबैको एकै ठाउँमा जमघट हुन्छ,’ मेयर तामाङ भन्छन्, ‘मुख्यगरी यो मेलाले काम खोज्नेलाई कामको अवसर र काम गर्ने मान्छे खोज्नेलाई कामदार तथा कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्नेछ ।’

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी पनि दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार मेलामा सीपमुलक तालिम दिने संस्थाहरूको बारेमा जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने र बेरोजगार व्यक्ति÷रोजगारदाताहरुको तथ्यांक अद्यावधिक पनि गरिनेछ ।

मेलामा स्थानीय उत्पादनको प्रदर्शनी र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती पनि रहनेछ । नगरपालिकाको प्राङ्गणमा हुने मेलामा १५ वटा स्टल रहनेछन् । मेला आयोजनाका लागि दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले पनि सहयोग गर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय