जय कार्की
ललितपुर । इन्डो नेपाल आशिहारा कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक विजेता १२ खेलाडी सम्मानित भएका छन् । सोसाई मात्सु तात्सु ओयामा कराते क्योकुसिन नेपाल, आई। के। ओ। क्योकुसिनकाईकान नेपालले आइतबार ललितपुरको नखिपोटस्थित एस. आई आर डोजोमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं। १४ का अध्यक्ष अमृतजंग महतले विजेता खेलाडीहरूलाई सम्मान पत्र गरे ।

यहीँ जुन १७ र १८ तारिखमा भारतको उत्तरप्रदेशको गाजियाबादस्थित लिलावती पव्लिक स्कुल प्रताप विहारमा भएको कराते प्रतियोगिता नेपालले स्वर्ण र रजत गरि १२ पदक हासिल गर्न सफल भएको थियो ।

सम्मान कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महत पढाईको साथसाथै खेलकुदलाई पनि संगसंगै लैजान र अनुशासित भएर खेल्न आग्रह गरे । ‘आगामी दिनमा पनि खेल क्षेत्रलाई निरन्तरता दिन सफलता मिलोस् । पढाईको साथसाथै खेलकुदलाई पनि संगसंगै लैजान र अनुशासित भएर खेल्न आग्रह गर्दछु ।’ अध्यक्ष महतले भने । महतले खेलकुदको विकासका लागि खेलाडी र डोजोलाई निरन्तर सहयोग गर्ने वताए । उनले आगामी वर्ष बजेट व्यवस्थापन गरेर सहयोग गर्ने र वडास्तरीय बजेटबाट डोजो व्यवस्थापन गर्न सहयोग गर्ने वताए ।

सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ सिहान दिपक लामाले विजेता खेलाडीहरूले आगामी दिनहरुमा हुने अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्षम हुने र उत्कृष्ट नतिजा ल्याउने विश्वास विश्वास व्यक्त गरे । उनले खेलाडीहरुलाई उच्च मनोबलका साथ अनुशासित र जिम्मेवार भएर खेल प्रदर्शन गर्न प्रेरित गरे ।

आशिहारा कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य रेफ्री समिर श्रेष्ठले यो प्रतियोगितामा स्वर्ण पदक हासिल गरेर खेलाडीहरुले देशको मान रफसान उच्च बनाएको वताए । ‘यो प्रतियोगिताबाट खेलाडीहरुले मात्रै जीत हासिल गरेको हैन, देशको समेत सान र मान बढेको छ ।’ हाम्रा खेलाडी,रेफ्रीहरु, टिम व्यवस्थापकलगायत सबैले आयोजकको मन जितेर आउन सफल भएका छौं । हाम्रो खेल प्रस्तुति र व्यवहारले उनीहरु खुसी छन्, आयोजकलाई खुसी पारेर यति धेरै पदक हासिल गर्न सक्नु हाम्रो महत्त्वपूर्ण सफलता हो ।’ मुख्य रेफ्री श्रेष्ठले भने ।

अभिभावक तथा प्रतियोगितामा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका रामहरि थापाले अत्मबिस्वासले खेल्न सफल भएकोमा खेलाडीहरुलाई हार्दिक बधाई भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

आशिहारा कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट पुरुषतर्फ नेपाली खेलाडीहरु सात वर्षीय बुधेश तामाङ,११ बर्षीय शेसेहाङ यौंग्य लिम्बु, १३ बर्षीय करण शाही, १५ बर्षीय साहिर श्रेष्ठ, १७ वर्षीय महेश कुमार गोले र १९ वर्षीय अमित तामाङले स्वर्ण पदक हासिल गर्न सफल भएका थिए ।

त्यस्तै महिलातर्फ ११ वर्षीय रचना थापा, १३ वर्षीय विनिशा राई, १५ वर्षीय संगीता परियार, १७ वर्षीय मोनिका तामाङ र रोहनी कस्तीले स्वर्ण पदक हासिल गर्न सफल भएकी थिइन् भने १५ वर्षीय अन्जु श्रेष्ठले रजत पदक हात पार्न सफल भएकी थिइन् ।

एस. आई आर डोजोका प्रमुख राज कुचीकारले अनुशासित रुपमा राम्रो खेल प्रदर्शन गरेर खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा सकरात्मक सन्देश दिएकोमा खेलाडीहरुलाई धन्यवाद व्यक्त गरे । उनले यस डोजोमा खेल्ने खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक हासिल गर्दा अन्य खेलाडीहरूलाई पनि डोजोमा खेल्न आउन उत्प्रेरित हुने अवसर मिलेको वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय