नवराज ढुंगाना
ललितपुर । स्कुलमा बालबालिका लिन गएका महिलाहरूलाई लक्षित गरेर सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर प्रहरीले सिक्री चोरीमा संलग्नलाई पक्राउ परेको हो। पक्राउ परेका रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकका रूपमा प्रयोग भएको पाइएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।

सिक्री लुटपाट वा लुटपाटको प्रयासमा लोलिनकाजी महर्जन संलग्न रहेका थिए। अन्य २ जना मोटरसाइकल÷स्कुटर चलाउने र महर्जन पछाडि बसेर गएर लुट्ने गरेको खुलेको प्रहरीले जनाएको छ। महर्जन ६ वटा चोरी मुद्दा र २ लागुऔषध मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।

सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकल÷स्कुलमा चढेर भाग्ने गरेका थिए। प्रहरी प्रमुख शाहका अनुसार बच्चालाई छोडेर प्रतिकार गर्न नसक्ने भएकाले स्कुलबाट बच्चा लिएर आउने महिलाहरूलाई टार्गेट गरेको पाइएको हो।

ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो। ललितपुर प्रहरीका अनुसार १७ गते ४ः१४ बजे ललितपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो। त्यस्तै, १७ गते नै ४ः४५ बजे वडा नम्बर ११ की मिना शाक्यको सिक्री लुटपाटको प्रयास भयो।

१८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो। भोलिपल्ट १९ गते साढे ४ बजे ललितपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो।

प्रहरीले पक्राउ परेकाहरुलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

एसएसपी शाहका अनुसार चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सिसिटिभीमा देखिएको हुलियाको आधारमा खोजतलास गर्दै जाँदा प्रकाउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट फेनारगन २ एम्पुल, डाईजेपाम २ एम्पुल, नोफिन २ एम्पुल, सिरिन्ज ५ पिस, पहेँलो रंगको सुन जस्तो देखिने सिक्री थान १, थान, बा २९ प १५६२ नं. को पल्सर मोटरसाइकल थान १, बा ९९ प ३६२८ नं को स्कुटर थान १ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय