धनकुटा । धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन किसानसँग आग्रह गरेको छ । ५ वर्ष पहिले नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्दै किसानलाई एभोकाडो खेतीमा आकर्षित गरेको थियो। धनकुटाका अधिकांश घरमा एभोकाडो लगाइएको छ। तर, सिजन अगावै बजारमा छ्यापछ्याप्ती एभोकाडो पुर्‍याइएपछि त्यसले धनकुटाको ब्राण्डिङ समस्या हुने बुझाइका साथ किसानलाई सार्वजनिक सूचनामार्फत जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए ।

‘कलिलो र कमगुणस्तरको फल टिपेर बिक्रि वितरण गरेको पाइएपछि उपभोक्ताबाट गुनासो आयो’ राईले भने, ‘एभोकाडोको गुणस्तरमै प्रश्न उठ्ने भएपछि फल परिपक्व भएपछि मात्रै बजारमा पुर्‍याउन किसान, व्यापारी र उद्यमीलाई अनुरोध गरिएको हो।’

उनका अनुसार सार्वजनिक सूचनासँगै एभोकाडो परिपक्व भएको फल कसरी चिन्ने, फलको टिपाइ भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेवलिङबारे किसानलाई जानकारी दिइएको छ । यसले कलिलैमा फल छिटो बजार पुर्‍याउने कार्यलाई निरुत्साहित गर्ने धनकुटा नगरपालिकाले विश्वास लिएको छ ।

पालिका भित्र रामो उत्पादन हुन थालेपछि २०७५ वैशाखमा पहिलो पटक धनकुटाले एभोकाडो राजधानी घोषणा गरेको थियो। फलको नामबाट उत्सव मनाएको पालिकाले यसअघि यसको सम्भाव्यता अध्ययन गरी किसानको आर्थिक उपार्जनमा टेवा पुग्ने यकिन गरेरै कार्यक्रम घोषणा गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए।

उनका अनुसार सुरु वर्षमा १९ सय ६३ घरधुरीबाट सुरु भएको एभोकाडो खेती हाल ४ हजार ९ सय २६ परिवार यो खेतीमा आबद्ध छन् । पालिका भित्र ४ हजार ४० रोपनीमा भइरहेको खेती विस्तार भएर १२ हजार ९९ सय रोपनीमा पुगेको छ। अधिकारीका अनुसार २०७५ सालमा नगरपालिका भित्रबाट २३ लाख ३२ हजारको एभोकाडो बिक्रि भएको तथ्याङ्क थियो भने २०७८ सालमा ३ करोड १९ लाखको एभोकाडो बिक्रि भएको थियो। एक पटक रोपेपछि वर्षौंसम्म उत्पादन दिने यस फलप्रति किसानहरूको आकर्षण बढिरहेको उनले जानकारी दिए । तर, खेती बिस्तारसँगै एभोकाडो फल र बोटमा समस्या समेत देखिन सुरु भएको छ। त्यसको दीर्घकालीन रोकथामका लागि पालिकाले पाख्रिबास स्थित कृषि अनुसन्धान केन्द्रसँग रोग किरा व्यवस्थापनका लागि समन्वय गरिरहेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार पालिका क्षेत्र भित्रका किसानलाई एभोकाडोको नर्सरी व्यवस्थापन देखि बिरुवा र एभोकाडो जुस पसल सञ्चालन गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ। धनकुटाको एभोकाडो धरान, इटहरी, विराटनगरसँगै काठमाडौंको बजारसम्म पुग्ने थालेका छन्। अहिले व्यवसायीले किसानको बगैँचामै पुगेर एभोकाडो खरिद गर्न थालेको आर्थिक विकास अधिकृत अधिकारीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय