धनकुटा ।
सहिदभूमि गाउँपालिकाले आज सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। सहिद दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँ कार्यपालिकाको कात्तिक १३ गते कार्यपालिकाकाे बैठकले गरेको निर्णय अनुसार छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त सहिदहरुको सम्मान र सम्झनामा मनाइने सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले मंगलबार सूचना जारी गर्दै सार्वजनिक विदा दिएको जनाएको छन्। गाउँपालिकाले हरेक वर्ष सहिद दिवसमा सार्वजनिक विदा दिँदै आएको छ।
२०३६ साल कात्तिक अन्तिम साता छिन्ताङमा तत्कालीन सरकारले कम्युनिष्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको हत्याकाण्डमा १६ जनाको हत्या भएको थियो। सरकारले ती १६ जनालाई हत्या भएको ३८ वर्षपछि २०७४ पुस २८ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो।