धनकुटा ।प्रगतिशील लेखक संघ नेपाल, धनकुटाको आयोजनामा धनकुटाका सम्भावना बारे पाख्रीवासमा खुल्ला वक्तृत्वकला प्रतियोगिता तथा विचार अभिव्यक्त कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले धनकुटाको विकासका लागि सबै तह र समुदायमा जागरण आवश्यक रहेको बताउनुभयो। स्थानीय तह, प्रदेश र संघीय सरकार एकढिक्का भएर अघि बढ्न सके धनकुटाको विकासले गति लिने उहाँको भनाइ थियो। प्रतियोगितामा सहभागी विद्यार्थीले धनकुटाका सम्भावनाबारे प्रस्तुत गरेका विचार तथा धारणा प्रयासका दृष्टिले राम्रो रहेको भन्दै उहाँले आगामी दिनमा थप मेहनतका साथ अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो।
वक्तृत्वकला प्रतियोगितामा धनकुटाका नौवटा विद्यालयबाट नौ जना विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूले धनकुटाको पर्यटन, कृषि, शिक्षा, संस्कृति तथा विकासका सम्भावनाबारे आफ्ना प्रस्तुति राखेका थिए।
प्रतियोगितामा हिलेस्थित मदरल्याण्ड स्कुलकी छात्रा आश्रय शंकर सर्वोत्कृष्ट घोषित हुनुभएको छ भने सितला देवी बोर्डिङ स्कुलकी विद्या पौडेल उत्कृष्ट घोषित हुनुभएको छ। सर्वोत्कृष्टलाई तीन हजार पाँच सय रुपैयाँ र उत्कृष्टलाई दुई हजार पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा जे.बी. भुजेल, लक्ष्मी सुवेदी र हरिप्रसाद पौडेल रहनुभएको थियो।
यसैबीच कार्यक्रममा धनकुटाको विकास र सम्भावनाबारे विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आफ्ना विचार तथा दृष्टिकोणसमेत प्रस्तुत गरेका थिए।
समाजवाद केन्द्र नेपालका अध्यक्ष अर्जुन राईले विकासको नाममा भौतिक संरचना निर्माण मात्र गरेर वास्तविक विकास नहुने बताउनुभयो। विकासले नागरिकलाई सन्तुष्टि, खुसी र शान्ति दिएको छ कि छैन भन्ने विषयमा पनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो। धनकुटा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा वरिष्ठ अधिवक्ता गोपाल भट्टराईले धनकुटा दिनप्रतिदिन खण्डहर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। पुर्खाको समयमा निर्माण भएका संरचनाबाहेक पछिल्लो समय धनकुटामा उल्लेख्य काम हुन नसकेको उहाँको भनाइ थियो।
धनकुटाको विकासका लागि सबै राजनीतिक दल, सचेत नागरिक र सरोकारवाला एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। आधुनिकताको नाममा अरूको नक्कल गर्ने प्रवृत्तिका कारण धनकुटाको मौलिकता र पहिचानसमेत हराउँदै गएको उहाँको भनाइ थियो।
यस्तै, प्रगतिशील लेखक संघका केन्द्रीय उपमहासचिव बोधराज घिमिरेले देशको शिक्षा क्षेत्र सुधार गर्न आवश्यक रहेको बताउँदै शिक्षा क्षेत्र कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
प्रगतिशील लेखक संघ धनकुटाका अध्यक्ष धुर्व एलेक्सको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाख्रीवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, वडाध्यक्षहरू सम्झना आले, सरोज राई र देवेन्द्र तामाङ , चुडामणिा पुलामीलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, साहित्यकार, लेखक र शिक्षकहरूको उपस्थिति रहेको थियो।












