चौबिसे गाउँपालिका धनकुटाले आफ्नो ५ बर्षे कार्यकालको उपलब्धीहरु सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक भवन उद्घाटन, जग्गादाताहरुलाई सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेर आफ्नो उपलब्धी सार्वजनिक गरेको हो । कार्यक्रममा पालिका अध्यक्ष खजिन्द्र राईले सर्वप्रथम पालिकालाई पद्दतिमा सञ्चालन गर्न ५० वटा ऐन, कार्यविधि, निर्देशिका, नियमावली र बिनियमावली बनाईएको जानकारी दिए । त्यस्तै राईले सार्वजनिक गरेको तथ्यांक अनुसार हरेक टोल र वडामा सडक सुविधा पु¥याईएको छ । पालिकाले महत्वपूर्ण ३ ठूला सडकहरु लाप्से कुरुले फलामेटार, राजारानी बोधे हङ्समोरङ्ग र धाराचौक अठारसय कुरुले सडक निर्माण तथा स्तरोत्तन्नति गरेको छ । वडा स्तरका सडकहरु तथा पालिका हुंदै अन्तरजिल्ला जोड्ने सडकहरुको विस्तार तथा स्तरोन्नति गरिएको जनाएको छ ।
भौतिक संरचनातर्फ भुकम्प प्राधिकरणसँगको समन्वयमा ४५ वटा विद्यालय भवन, १५ वटा शौचालय, १० वटा खोप केन्द्र, ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य ईकाइ भवन निर्माण गरिएको छ । पालिकाले प्रशासनिक भवन, जनजाति संग्रहालय, मगर जातिको संग्रहालय, सामुदायिक भवन, न्यायीक समितिको भवन, कवर्ड हल, नमुना बिद्यालय भवन, विभिन्न चर्चहरु निर्माण तथा संहार, झोलुंगे पुल निर्माण लगायतका १७ वटा महत्वपूर्ण बिषयहरुमा काम जनाएको छ । स्वास्थ्य तथा सरसफाईतर्फ १२ वटा स्वास्थ्य संस्थाहरुमा सुलभ फार्मेसी सेवा सञ्चालन गरिएको छ भने ५ वटा स्वास्थ्य संस्थाहरुमा ल्याव, ४ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर (प्रसुति सेवा) सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
यता राजारानी स्वास्थ्य चौकीलाई १० शैयाको अस्पतालमा स्त्तरोन्नति गरिएको छ भने विभिन्न स्वास्थ्य संस्थाहरुलाई आवश्यकता अनुसार स्वास्थ्य उपकरण तथा दरबन्दीको ब्यवस्था गरिएको र १० देखि ५० प्रतिशत सम्म छुटमा एम्बुलेन्स सेवा, अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । गर्भवती महिलाहरुलाई पोषिलो खाना तथा विभिन्न स्वास्थ्य सेवा, नागरिकहरुलाई निःशुल्क औषधी सेवा, विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन, स्वयंसेविकाहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाका सबै वडाहरुमा इन्टरनेट सेवाको बिस्तार गरिएको र पालिका तथा वडाहरुका मार्फत राजश्व संकलनका कार्यहरु अनलाईन मार्फत सञ्चालनमा ल्याइएको छ । सामुदायिक बिद्यालयहरुमा कम्प्युटर शिक्षाको ब्यवस्थापन गरिएको छ ।
सामाजिक विकासतर्फ दलित तथा माझी बस्तीहरुमा बन्न लागेको ४६ घर मध्ये १० वटा सकिएको र ३६ वटा निर्माणको चरणमा रहेको छ । पालिकाका १ हजार ५ सयभन्दा बढी घरधुरीलाई जस्तापाता वितरण गरिएको छ भने १ सय ३९ जनालाई सोलार बितरण गरिएको छ । जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता, विभिन्न सीप तथा उद्यमशिलता तालिम, विभिन्न राहत तथा खाद्यन्न बितरण लगायतका ३८ शिर्षकहरुमा पालिकाले काम गरेको छ । शैक्षिक क्षेत्रमा पालिकाले सरकारी कर्मचारीहरुका छोराछोरी अनिबार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति लागु गरेर ९० प्रतिशत भन्दा बढी सफलता हासिल गरेको जनाएको छ । पालिकाका सबै बिद्यालयहरुमा ईन्टरनेट र कम्प्युटर, फोटोकपी आदिको ब्यवस्था, नीजि तथा सामुदायिक बिद्यालयहरुमा पाठ्यक्रमको एकरुपता गरिएको छ ।
खानेपानी व्यवस्थापनका लागि प्रदेश सरकारको समन्वयमा कुरुले, बोधे, बुधुकमा ठूला लिफ्टिङ खानेपानी आयोजनाहरु सम्पन्न हुने चरणमा रहेका छन् । कृषि तथा पशु पालनको क्षेत्रमा ३६ किसानहरुलाई मिनीटिलर, ५ सय जनालाई प्लाष्टिक टनेल, १२ वटा सिंचाई आयोजना सम्पन्न भएका छन् । २५ हजारको हाराहारीमा किवी, एभोकाडो, सुन्तला, ओखर, कागती लगायका बिरुवाहरु वितरण गरिएका छ । पालिकाले अमेरिकन फौजिकिरा नियन्त्रण तथा माछा, मौरी पालन, सब्जी तथा पशु पालन सम्बन्धी विभिन्न तालिम सञ्चालन गरेको छ । पर्यटन विकासका लागि पालिका क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यहरुको डिपिआर तयार गरेको छ भने पालिकाकै सबैभन्दा ठूलो आयोजना अन्तर्गत वडा नं. २ मा रहेको धप्पड ताल निर्माणको काम शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् ।












