सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी बनेको हो । यस्तै संघमा दोस्रो ठूलो पार्टी बनेको एमालेले समानुपातिकतर्फ दलहरुमा सर्वाधिक मत पाएको छ । समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार मत पाएको छ । जुन समग्रमा ठूलो दल बनेको नेपाली कांग्रेसले पाएको भन्दा पनि धेरै मत हो । नेपाली कांग्रेसले समानुपतिकतर्फ २७ लाख १५ हजार मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसले यसपटक समानुपातिक र प्रत्यक्ष गरी संघमा ८९ सिट जितेको छ । यस्तै नेकपा एमालेले प्रत्यक्षमा ४४ सिट र समानुपातिकमा ३४ सिट जितेको छ । यस्तै नेकपा माओवादी केन्द्र भने ३२ सिटमा खुम्चिएको छ । प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् ।

अन्य दलको पनि प्रतिनिधित्व रहेपनि राष्ट्रिय दल मान्यता पाउन सकेनन् । राष्ट्रिय मान्यता पाउन प्रत्यक्षमा कम्तीमा एक सिटसहित समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । आयोगको अन्तिम मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमालेले बहुमत नजिक ल्याएको छ । सरकार बनाउन ४७ सिट चाहिनेमा एमाले एक्लैले ४० सिट जितेको हो । यसैगरी विगतमा कमजोर नतिजा ल्याउने गरेको मधेसमा समेत एमाले चम्किएको छ । मधेसमा २३ सिट जित्दै एमाले पहिलो पार्टी बनेको हो । प्रदेश नम्बर १ र मधेस प्रदेशमा कांग्रेसको हैसियत दोस्रो पार्टीको रुपमा रहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा पनि एमाले ठूलो पार्टी बनेको छ । एमाले २९ सिटसहित पहिलो पार्टी बन्दा २७ सिटसहित कांग्रेस दोस्रो स्थानमा छ । यस्तै माओवादीले ९ सिट जित्दा जसपाको ३ सिट रहेको छ। बागमती र गण्डकी प्रदेशमा दोस्रो पार्टी बनेको एमाले कर्णाली र सुदूरपश्चिममा भने तेस्रो पार्टी बनेको छ । ती प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । संघ र प्रदेशको सम्पूर्ण नतिजा आएसँगै निर्वाचन आयोगले यससम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ । आयोगले केही दिनभित्रमै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ । त्यसपछि नयाँ सरकार गठनको गृहकार्य सुरु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय