पर्सा/बारा: गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका सीमा नाकामा सुरक्षा संयन्त्रलाई पूर्वजानकारी नदिई गरेको छड्के अनुगमनले सुरक्षा निकायमा हलचल पैदा गरेको छ। चितवनबाट शुक्रबार राति गोप्य रूपमा निस्किएका गृहमन्त्री गुरुङले निजी सवारी साधनको प्रयोग र हुलिया परिवर्तन गरी स्थानीय सुरक्षा अधिकारीहरूलाई छलेर तस्करीको ‘ग्राउन्ड जिरो’ सम्म पुगेका हुन्।
छड्के अनुगमनका मुख्य बुँदाहरू:
गोप्य रणनीति: गृहमन्त्री गुरुङले सरकारी सवारी साधन र सुरक्षाकर्मीको लस्कर छाडेर क्याप, मास्क र चश्माको सहायताले सामान्य नागरिकको भेषमा अनुगमन गरेका थिए। यस क्रममा उनले पाँच पटकसम्म सवारी साधन फेरेका थिए भने उनका सुरक्षाकर्मी (PSO) को समेत मोबाइल फोन ‘अफ’ राखिएको थियो।
तस्करीको पोलखोल: अनुगमनका क्रममा उनले अलौं र पनटोक्काजस्ता तस्करीका लागि चर्चित नाकाहरूमा स्थानीयसँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीय बासिन्दाले सुरक्षाकर्मीकै मिलेमतो र संरक्षणमा खुलेआम तस्करी हुने गरेको गुनासो उनलाई सुनाएका थिए।
सीसीटीभीको आडमा तस्करी: स्थानीयले गृहमन्त्रीलाई सडकमा जडित सीसीटीभी क्यामेराकै आडमा तस्करी हुने गरेको खुलासा गर्दै त्यसको निगरानी कसले गरिरहेको छ भन्ने प्रश्न उठाएका थिए। जवाफमा उनले प्रशासनसँग यसको जवाफ मागेका छन्।
अन्तिम प्रस्थान र कडा निर्देशन: शनिबार साँझ सिमरा विमानस्थलबाट काठमाडौं फर्कनुअघि उनले बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई बोलाएर सीमा क्षेत्रमा भइरहेको तस्करी तत्काल नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।
स्थानीयको आक्रोश र सुरक्षा निकायमाथि प्रश्न
पर्सा र बाराका सीमावर्ती क्षेत्रका बासिन्दाले लामो समयदेखि सीमाबाट भइरहेको संगठित तस्करी र त्यसमा सुरक्षाकर्मीको संलग्नतालाई लिएर असन्तुष्टि जनाउँदै आएका थिए। सर्वसाधारणलाई भन्सार बिन्दुमा कडाई गर्ने तर सीमा नाकाबाट हुने अवैध ओसारपसारलाई भने सुरक्षा निकायले आँखा चिम्लिने गरेको स्थानीयको आरोप छ।
गृहमन्त्रीको यो अप्रत्यासित ‘सर्प्राइज भिजिट’ पछि स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरूमाथि कार्यसम्पादन र पारदर्शिताको दबाब बढेको छ।












