धनकुटा । जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाख्रीबास नगरपालिकाले ३० लाख ३३ हजार ६ सय १४ रुपैयाँ सहयोग गर्ने भएको छ।
नगरपालिकाले भदौ १५ गते बसेको कार्यपालिका बैठकबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख, जनप्रतिनिधिको सेवा सुविधाबाट १ लाख ४३ हजार, कर्मचारीको तलब स्केलबाट ६ लाख ४८ हजार ९ सय ४३ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब स्केलबाट १७ लाख २१ हजार ६ सय ७१ रुपैयाँ सहयोग जुटाइएको छ।
यसैबीच, भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नगर प्रमुख ज्ञानबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत उत्तमकुमार घिमिरेद्वारा संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत नगरपालिकाले सहयोगसम्बन्धी जानकारी गराएको हो।













