ललितपुर । समाचारको स्रोत खोज्ने नाममा सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई पक्राउ तथा धरपकड गर्ने कार्यको विरोधमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पनि विरोध कार्यक्रम गरेको छ।
नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलनअन्तर्गत ललितपुर शाखाले पत्रकारमाथि भइरहेको धरपकड, सञ्चारगृहमा प्रहरी प्रवेश तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध आवाज उठाएको हो।

पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित विरोध कार्यक्रम गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्।
नेपाल पत्रकार महासंघले देशभरका जिल्ला शाखामार्फत जिल्ला प्रशासन कार्यालयमा विरोध कार्यक्रम गर्ने निर्णय गरेअनुसार विभिन्न जिल्लामा पत्रकारहरूले आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
पत्रकारहरूले भयरहित वातावरणमा समाचार संकलन, लेखन, प्रकाशन तथा प्रसारण गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। समाचारको विषयमा कुनै विवाद भए स्थापित कानुनी प्रक्रिया र प्रेस काउन्सिलमार्फत समाधान खोजिनुपर्ने उनीहरूको भनाइ छ।
पत्रकारमाथिको धरपकड रोक्न, सञ्चारगृहमा अनावश्यक हस्तक्षेप बन्द गर्न तथा पत्रकारलाई निर्भयतापूर्वक काम गर्ने वातावरण बनाउन सरकारसँग माग गर्दै आन्दोलन जारी रहने उनीहरूले बताएका छन्।












