नेपालीको महान् चाड बडादसैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए ।
अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैं बिदा सुरु भएपछि भने यो संख्या अझै बढ्ने बताए । ` अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ´, महाशाखाका प्रमुख भट्टराईले भने, ` यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौं, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।´
यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए । प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो । त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन् । यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए ।
महाशाखाले दिएको तथ्यांकअनुसार असोज २२ गते शुक्रबार छ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए । सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ । त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ । असोज १ देखि २२ सम्ममा कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ । सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ ।
प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने संख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन् । यद्यपि रिजर्ब गरेर जाने यात्रुको संख्या यसपाली बढी छ । त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए । यसपाली असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।
प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड-१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ । यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिनुभएको छ । चाडबाडका बेला आफैं पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ ।












