काठमाडौँ । युरोपको विश्वकप छनौट अन्तर्गत सर्बियाले पोर्चुगललाई पराजित गर्दै विश्वकपमा छनौट भएको छ ।
गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा सर्बियाले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सर्बियाको जितमा दुसान ताडीक र एलेक्जान्डर मिट्रोभिकले एक एक गोल गरेका थिए । खेल १-१ गोलको अवस्थामा सर्बियाका अलेजाण्डरले खेलको ९०औं मिनेटमा निर्णायक गोल गर्दै सर्बियालाई विश्वकपमा छनौट गराएका छन् ।

त्यस्तै पोर्चुगलका लागि एक गोल रेनाटो सान्चेजले गरेका थिए ।यस खेलमा जितसँगै सर्बियाको ८ खेलमा २० अंक भएको छ र समुहमा प्रथम हुदै विश्वकपका लागि छनौट भएको छ । त्यस्तै पोर्चुगल भने पहिलो चरणमा विश्वकपमा छनौट हुन असफल भएको छ । पोर्चुगल ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा रहेको छ । अब पोर्चुगलले विश्वकप छनौटको प्लेअफ खेल्नु पर्ने छ । युरोपको विश्वकप छनौटका १० समुहका उपविजेताको प्लेअफ खेल आगामी मार्चमा हुने छ ।












