चीन र रुसका वरिष्ठ कूटनीतिज्ञहरूबीच एसियाली मामिलामा दुवै एकजुट भएर अघि बढ्ने विषयमा सहमति भएको छ । पछिल्लो समयमा पश्चिमा जगतको दबाब बढिरहेका बेला दुई छिमेकी मुलुकबीच आपसी सहयोग, समर्थन र समन्वयको सहमति जोडदार रूपमा अघि बढेको हो ।
चीनको विदेश मन्त्रालयको एसियाली मामिला इकाइका प्रमुख लिउ जिन्सोङ र रुसी विदेश मन्त्रालयका एसिया–प्रशान्त विभागका अध्यक्ष ओभ्चिन्नीकोभ एलेक्सी मिखाइलोभिचबीचको मंगलबार सम्पन्न भर्चुअल बैठकमा यो सहमति भएको हो ।
चिनियाँ विदेश मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत जनाएको छ,एसियाको आपसी क्षेत्रीय, राष्ट्रिय नीतिहरू, क्षेत्रिय सहयोग र क्षेत्रीय जल्दाबल्दा विषयहरूमाथि अत्यन्तै सौहार्दपूर्ण विचार आदान प्रदानपश्चात हामीबीच बृहत सहमति भएको हो । दुवै पक्षबीच संयुक्त रूपमा थप क्षेत्रीय शान्ति, स्थिरता, सहयोग तथा विकास प्रवर्धन तथा एसियाली मामिलामा योजनाबद्ध संचार र समन्वयका लागि सहमति भएको छ ।
यसअघि चीनका लागि रुसी राजदूत एन्द्रिए देनिसोभले अमेरिका र नेटो मुलुकहरूसँग भएका सुरक्षा वार्ताका विषय र त्यसमा भएका प्रगतिबारे बेइजिङलाई जानकारी गराउँदै आएको बताएका थिए ।












