सन्दिप थापा, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ।

‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको प्रति हाम्रो आपत्ति रहेको छ । त्यसका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी छ ।

चुनाव घोषणाका लागि दबाब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो,’ रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि अन्य दबाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ ।

आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना(साना भेलाहरु गर्न सहमतिको विषयहरु रहेका छन् ।’

भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आयोजना गर्न लागिएको बैठकमा स्वास्थ्य सुरक्षा र सरकारको तोकेको मापदण्डअनुरुप नै हुने उपप्रमुख रिजालले बताए । ‘सबै जनवर्गीय संगठनबाट एक जनाको सहभागिता रहने छ,’ रिजालले भने ।

एमालेको २२ वटा जनसंगठन समन्वयन समितिको संयोजकमा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल रहेका छन् । सो समितिमा जनवर्गीय संगठनका इन्चार्ज, सह(इन्चार्ज र अध्यक्ष रहने गरेका छन् ।

यसअघि कोरोनाबाट संक्रमित रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएपनि बिबादमा परेका थिए । संक्रमित रहँदै उनले रक्तदान कार्यक्रममा सहभागी भएकाहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय