प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी  गरेको छ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको थिएन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन सकिने बताइएको छ ।
मंगलबार नै बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई आग्रह गरेका थिए ।

काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको ठहर छ ।

काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको  छ । एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसको जिकिर छ ।तर एमसीसीको पक्षमा सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी खुलेको छैन । अर्थात यी दुई दलमा पार्टीका नेताहरुमै एमसीसीबारेको बुझाइ एकरुपता छैन ।
यसैगरी जसपा एमसीसीको पक्षमा देखिएको छ भने प्रतिपक्षी दल एमालेचाहिँ सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय पर्ने पक्षमा रहेको छ । विगतमा केपी ओली प्रधानमन्त्री हुँदा उनले एमसीसी पास गरिनुपर्नेमा जोड दिँदै आएपनि सरकारबाट बाहिरिएपछि भने नखुलेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय