काठमाडौं
एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबरजस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले प्रतिरोध गर्ने चेतावनी दिनुभएको हो । झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेब्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘जबरजस्ती कूटनीति’ गरिरहेको आरोप चीनले लगाएको छ ।

‘चीन त्यसको प्रतिरोध गर्छ’ प्रवक्ता पिनको भनाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले बताएको छ । पिनले नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीनले स्वागत गर्ने तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्ने बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नेपालको मित्रवत छिमेकी र विकास साझेदारको नाताले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतालाई निरन्तरता दिने बताउँदै प्रवक्ता पिनले आफ्नो देशको हित र जनताको चाहनालाई देखाउने निर्णय गर्न नेपाललाई साथ दिने समेत बताएको ग्लोबल टाइम्सले बताएको छ ।

गतसाता मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी फेब्रुअरी २८ भित्र एमसीसी पारित नभए अमेरिकाले नेपाल नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको विवरण सार्वजनिक भएको थियो ।

साथै, सम्झौताको संसदीय अनुमोदन हुन नसके यसमा चिनियाँ हस्तक्षेपको अर्थको रुपमा आफूहरुले बुझ्ने बताएको पनि उल्लेख थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय