स्थानीय निर्वाचन, २०७९  का  लागि  निर्वाचन  आयोगमा  ३२  वटा  दलले  दल  दर्ताका  लागि  निवेदन  दिएका  छन्  ।  आयोगले  निर्वाचन  प्रयोजनका  लागि  फागुन  १५  गतेसम्म  दल  दर्ता  हुनुपर्ने  समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् ।

बिहीबार मात्रै पिछडावर्ग निषाद दलित जनजाति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल, समाजवादी केन्द्र नेपाल, नेसनलिस्ट पिपुल्स पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल र आमूल परिवर्तन मसिहा पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगमा हालसम्म १०९ वटा राजनीतिक दल दर्ता भएकोमा ७३ वटा दल अझै स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएको छैनन् ।

आफ्नै चुनाव चिह्न पाउने दुई दल मात्रै हालसम्म निवेदन दिएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरी आफ्नै चुनाव चिह्न पाउने छवटा दल रहेकोमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मात्रै निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।

सङ्घीय संसद्मा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र जनता समाजवादी पार्टी अझै निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएको छैन ।

यसैबीच, स्थानीय निर्वाचन, २०७९ को तयारीका लागि निर्वाचन आयोगले गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रत्येक मतदान केन्द्रमा कोभिड–१९ रोकथाम गर्ने स्वास्थ्य सामग्री प्रयोग गरिने जानकारी दिए । उक्त प्रयोजनका लागि आयोगले मतदान केन्द्रमा मास्क र स्यानिटाइजर र प्राथमिक उपचार सामग्रीको खरिद गर्न बोलपत्र आह्वान गरेको प्रवक्ता अर्यालले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय