धनकुटा
छ्थर जोरपाटी गाउँपालिकाको ५ औं वार्षिकोत्सबको अवसरमा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिताको उपाधी वडा नम्बर ६ सिधुवाले जितेको छ ।
५० तोलाको चादीको शिल्ड राखेर विगत ४ वर्षदेखी आयोजना गर्दै आएको रनिङ शिल्ड प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा छ्थर जोरपाटी वडा नम्बर ६ ले वडा नम्बर २ लाई फाइनलमा पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भयो ।
वडा नम्बर ६ ले उपाधी ५० तोलाको चादीको रनिङ शिल्ड सगै नगद ४० हजार जित्न सफल भएको छ भने वडा नन्बर २ दोस्रो ट्रफीका साथ ३० हजार जित्न सफल भयो । त्यस्तै प्रतियोगितामा तेस्रो हुने साबिक २ पटकको विजेता वडा नम्बर १ तेस्रो ट्रफी र नगद २० हजार मा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको उत्कृष्टतर्फको पुरस्कार अन्तर्गत उत्कृष्ठ डिफेन्स राजु खड्का, लिफ्टर गणेश लिम्बु, उत्कृष्ट स्पाइकर निलम लिम्बू र उत्कृष्ट ब्लकर तथा खेलाडी याम बहादुर थापा घोषित भएका थिए ।
विजेता खेलाडीहरुलाई संघीय सभासद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिति सभापति टंक चुवान, गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बू, खेलकुद विकास समितिका अध्यक्ष चन्द्र कुमार लिम्बुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।












