नवराज ढुंगाना, काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरूप आज दर खाने तयारीमा नेपाली महिला छन्। दर खाने दिनसँगै चार दिने तीज पर्व आज सुरु हुँदै छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मीठा-मीठा एवं आडिलो परिकार दरका रूपमा खाई मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन्।












