सिम्रौनगढ नगरपालिका–४, हरिहरपुरमा मङ्गलबार दिउँसो मल आपूर्तिको माग गर्दै गर्दा दुई पक्षबीच झडप भएको छ।

उक्त ठाउँका किसानहरूले सिम्रौनगढ नगरपालिका–४ को कार्यालयमा मङ्सिर १८ गते तालाबन्दी गरेका थिए। केही दिन अगाडि वडा कार्यालयले जिल्लाबाट रासायनिक मल ल्याए पनि वितरणमा ढिलो गरेको भन्दै किसानहरूले तालाबन्दी गरेका थिए।

स्थानीयले पटकपटक रासायनिक मल वितरण गर्न माग गरेका थिए। वडा कार्यालयले १५ गतेदेखि १८ गतेभित्र नागरिकतासहित निवेदन दिन आह्वान गरेको थियो। किसानहरू निवेदन दिन जाँदा १८ गते अपराह्न कार्यालय बन्द गरेर वडाध्यक्ष अवधेश सहनी र कर्मचारीहरू बेपत्ता भएकाले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय रामलोचनप्रसाद यादवले बताउनुभयो।

वडा कार्यालयमा गरिएको तालाबन्दी खुलाउने क्रममा पूर्ववडाध्यक्ष राजेश यादव र वर्तमान अध्यक्ष सहनी पक्षबीच भएको विवादले उग्ररूप लिँदा झडपमा परिणत भएको थियो। दुवै पक्षका स्थानीयले हातमा बाँस र भाटा लिएर उत्रिएपछि घटना साम्य पार्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो।

दिनभर तनावग्रस्त बनेको क्षेत्र साँझ साम्य भएको र दुवै पक्ष तितरबितर बनाइएको थियो। दुवै पक्षबीच पुनः झडप हुन नदिन उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय