शैलुङ । दोलखाको शैलुङ गाउँपालिकामा विजयादशमीको अवसरमा आयोजना गरिएको खुला पुरुष फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। शैलुङ देउराली समाजको आयोजनामा शैलुङ रंगशालामा सुरु भएको प्रतियोगितामा १६ वटा टोली सहभागी भएका छन्।

शैलुङ देउराली समाजका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुदको विकास, युवाको प्रतिभा प्रस्फुटन तथा खेलाडीहरूबीच आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले शिल्ड तथा मेडलसहित नगद ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले मेडलसहित नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी टोलीका लागि दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको थियो ।

प्रतियोगिताको सह–आयोजक शैलुङ गाउँपालिका रहेको छ। प्रतियोगिताले शैलुङ क्षेत्रको खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

आयोजकले प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, खेलप्रेमी तथा सरोकारवाला सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय