पेरिस — बढ्दो जीवनयापन खर्च, युद्ध र आवास समस्याप्रति असन्तुष्ट भएर युरोपका चार देशमा हजारौँ मानिस सडकमा उत्रिएका छन्। फ्रान्समा सुरु भएको विरोध शनिबारसम्म बेल्जियम, इटाली र पोर्चुगलसम्म फैलिएको छ।
फ्रान्समा विद्यार्थीले थालेको आन्दोलनमा अन्य असन्तुष्ट समूह जोडिएसँगै प्रदर्शन उग्र बन्यो। विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट भए, जसमा सरकारी भवन, सुपरमार्केट, महँगा पसल र प्रहरीका गाडी निशानामा परे। गृह मन्त्रालयका अनुसार देशभर साढे पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भए, र कतिपय स्थानमा प्रदर्शनकारी तथा प्रहरीबीच झडप भयो।
इटालीको मिलानमा प्रदर्शनकारीले सहरको केन्द्रमा आगो लगाए र पसलमा लुटपाट गरे। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो। ला प्रेसेका अनुसार झडपमा कम्तीमा दुई प्रहरी घाइते भए भने ५० जना प्रदर्शनकारीलाई पक्राउ गरियो।
बेल्जियमको ब्रसेल्समा विश्वविद्यालयको भर्ना शुल्कविरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनमा अन्य समूह पनि सामेल भए। प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा चलाएर भीड नियन्त्रण गर्ने प्रयास गर्यो।
पोर्चुगलमा भने महँगी र आवास संकटविरुद्ध दशौँ हजार मानिसले राजधानी लिस्बनमा प्रदर्शन गरे।
अधिकारीहरूका अनुसार महँगी र युद्धविरोधी प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भएका थिए, तर केही समूहले हिंसा गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको हो।












