दोलखा । दोलखा र रामेछापको सङ्गमस्थल प्रसिद्ध पर्यटकीय स्थल शैलुङमा ज्याङ्छयुब छ्योर्तेन (बोधि चैत्य) सम्पन्न भएको छ।

बुधबार प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका शरण नायक परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिपोन्पोछेले उदघाट्न गरेका हुन्। शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७३ मा छ्योर्तेनको निर्माण सुरु गरेको करिब ७ वर्षपछि सम्पन्न भएको छ। शैलुङ रिगसुम गोन्पो सेवा समाजको विशेष पहलमा दोलखा र रामेछापको स्थानीय सरकार, जनप्रतिनिधि, विभिन्न दातृ निकाय, व्यक्ति तथा सङ्घसंस्थाहरूको सहयोगमा करिब ३ करोड ३० लाख रुपैयाँ लागतमा ५५ फिट अग्लो छ्योर्तेनको निर्माण भएको हो।

उदघाट्न समारोहमा रामेछाप १ सङ्घीय सांसद पूर्ण बहादुर तामाङले शैलुङ दोलखा र रामेछाप दुबै जिल्लाको सङ्गमस्थल रहेकोले यस क्षेत्रको विकासमा दुवै जिल्लाले विवाद नगरी मिलेर बिकास गर्नु पर्ने बताए। सांसद तामाङले भने, ‘शैलुङ कुनै चाइनाको सिमाना या कुनै भारतको सिमाना होइन यो हाम्रो नेपालकै दुई जिल्लाको सिमाना भएकोले यस क्षेत्रको बिकास गर्नुको लागि जुनसुकै सहयोग गर्ने गर्छु।’

त्यसैगरी क्षेत्र २ सङ्घीय सांसद युवराज चौलागाईंले अबको ५ वर्षभित्र शैलुङसम्म पुग्ने बाटो कालोपत्रे गर्ने, एक वर्षभित्र सञ्चार सुविधा उपलब्ध गराउने र शैलुुङको विकासका लागि शैलुङ क्षेत्र विकास समिति गठन गर्ने प्रतिबद्धता गरे ।

छ्योर्तेनको समुद्घाटन समारोहमा बौद्ध धर्मगुरु, लामा, दोलखा र रामेछापका जनप्रतिनिधि, ताम्बा, बोन्पो लगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय