काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारी पदमा हुँदा आफूले प्रयोग गरेको सबै सम्पति फिर्ता गरिसकेको बताएका छन् । उनले चढ्ने गाडी निर्वाचन आयोगको भएको भन्दै समाचार आउन थालेपछि पोखरेलले उक्त समाचारको खण्डन गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको हैसियतसहित सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रयोग गरेको सरकारी गाडीलगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरण फिर्ता गरिसकेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् भनेको छन्, ‘मैले मन्त्री पदबाट विदा भएकै दिन सम्बन्धित निकायमा सरकारी गाडीलगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरण बुझाएको कुरा त्यसै बेला जानकारी गराइसकेको छु ।’

आफूले चढ्ने गाडीको विषयमा आएको समाचार कपोकल्पित र झुटो भएको उनको दाबी छ । उनले आफूविरुद्ध लगाइएको यस्तो आरोपको पुष्टि गर्नसमेत चुनौति दिएका छन् ।

सञ्चारमाध्यमले उनले चढ्ने गाडी सरकारी दाबी गरेपनि पोखरेलले भने गाडी पार्टीले दिएको बताएका छन् । उनले लेखेका छन्, ‘हाल मैले चढिरहेको गाडी मलाई मेरो पार्टी कार्यालयले पदीय हैसियत बमोजिम जिम्मेवारी निभाउन प्रदान गरेको गाडी हो ।’

उनले प्रकाशित समाचार कपोलकल्पित र झुटो भएको भन्दै घोर भत्र्सना गरेका छन् । आफूमाथि विगतमा पनि पटक–पटक झुटो आरोप लगाउँदै चरित्रहत्या गरी जनमानसमा भ्रम फैलाउने कार्य गरिँदा आफ्नो पदीय गरिमा ख्याल गरी चुप बसेको उनले बताएका छन् ।

तर, उनले यो पटक भने आफूमाथि लगाइएको आरोप पुष्टि गर्नुपर्ने चुनौति दिएका छन् । उनले भनेका छन्, ‘मेरो इमान, निष्ठा र स्वाभिमानसँग आत्तिएका कुनै पनि व्यक्ति र शक्तिलाई मैले नियम विपरित गरेको कुनै क्रियाकलाप भए पुष्टि गर्न चुनौती दिन चाहन्छु ।’

निश्चित उद्देश्यका लागि परिचालित भई लगाइने यस्ता कपोकल्पित र आधारहीन लाञ्छनाबाट भ्रममा नपर्न उनले अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय