काठमाडौँ । मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको बिहेका अवसरमा लोमन्थाङ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले सोमबार विष्टको विवाह उत्सव मनाउन गाउँकार्यपालिकाको कार्यालयमातहतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष टेसि न्हर्बु गुरुङले जारी गरेको सूचनामा भनिएको छ,प्रस्तुत विषयमा मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा फिग्मी सिडी पलवर विष्टका जेष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको शुभ विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले मिति २०५०।०३।१८ गते सोमबारको दिन यस गाउँ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ ।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार स्थानीय परम्पराअनुसार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह ३ दिनसम्म चल्नेछ । उनको विवाह ताप्लेजुङमा हुन लागेको र बुधबार लोमन्थाङ बेहुली लिएर आइपुग्ने पनि गुरुङले जानकारी दिए ।मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टको २०७३ साल मंसिरमा निधन भएको थियो। उनी उपल्लो मुस्ताङका २५ औं राजा थिए ।

विवाहमा सार्वजनिक बिदा दिने यो पहिलो गाउँपालिका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय