काठमाडौँ । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ। प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ।

तालिमपश्चात ‘पासआउट’ भएका नयाँ तथा पुराना गरी नौ सय ५८ प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ प्रहरी निरीक्षकको बढुवा र पदस्थापन भएको छ।

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको सङ्ख्या, भौगोलिक अवस्थितिलगायत आधारमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ। ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवं कार्यसम्पादनस्तरसमेतका आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ।

पहिलोपटक कार्यालय प्रमुखको अवसर प्राप्त गर्नेलाई अनिवार्यरुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ।

श्रेणी छुट्याएर मापदण्डअनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ। पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि मन्त्रालयले उक्त मापदण्ड बनाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय