रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले ‘१६ वर्ष पारी नागरिकता जारी’ अभियान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना तथा लिखु तामाकोसी गाउँपालिकाको व्यवस्थापनमा शनिबार लिखु तामाकोसी गाउँपालिकाबाट सो अभियान सुरु भएको हो ।

जनप्रतिनिधिलाई अपराध नियन्त्रण सम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा जानकारी दिई छलफल गर्न र समाजमा अपराध न्यूनीकरण तथा नागरिकका काम सहज रूपमा सम्पादन गर्ने वातावरण बनाउन सो अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षता तथा लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले छोरा हुन् वा छोरी १६ वर्ष पूरा हुने बित्तिकै नागरिकता बनाइदिने कुरामा अभिभावक सचेत हुनुपर्ने बताइन्। अज्ञानताको कारणले कतिपय नागरिकले समयमा नागरिकता नलिँदा धेरै दुःख खेप्नु परेको उनले बताइन् । त्यस्तै सरकारी डकुमेन्ट बनाउन आवश्यक कागजातको बारेमा जानकारी नहुँदा नागरिकले दुःख पाउने भएकोले त्यसबारेमा जनप्रतिनिधिलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन् ।

नागरिकहरूको मूल डकुमेन्ट नागरिकता भएकाले नागरिकता समयमा नै बनाइदिने हो भने धेरै समस्या समाधान हुने उनले बताइन् । समयमा नागरिकता नबन्दा महिलाहरूले धेरै दुःख पाएकाले उनीहरूलाई समयमा नै नागरिकता बनाइदिने कुरामा जनप्रतिनिधिले पनि भूमिका निर्वाह गरिदिन अनुरोध गरिन् । सार्वजनिक सेवा प्रवाह सामूहिक कार्य भएकोले एक्ले कुनै पनि निकायले गर्न नसक्ने उनले प्रष्ट पारिन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका आठवटै स्थानीय तहमा ‘१६ वर्ष पारी’ नागरिकता जारी अभियान सञ्चालन गर्ने उनले जनाकारी दिइन् ।

कार्यक्रममा समाजमा हुने अपराध अन्तर्गत लागू औषध, लैंगिक हिंसा, साइवर सुरक्षा, बलात्कार र आत्महत्या र त्यसको न्यूनीकरण र रोकथाममा प्रहरी, जनप्रतिनिधि र नागरिक समाजको भूमिकाको बारेमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी गराएका थिए ।

पराजुलीले अपराध नियन्त्रण र अपराधका घटना अनुसन्धानमा समुदायले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । त्यसो भयो भने अपराध नियन्त्रण र अनुसन्धानमा सहज हुने उनले प्रष्ट पारे ।

जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा कार्यालयका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिएका थिए । उनले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, नाता प्रमाणित, राहदानी लगायतका प्रमाणपत्र लिँदा पूरा गर्नुपर्ने कागजात लगायतका विषयमा जानकारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय