कालिकोट । कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् ।

पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी गीताकुमारी छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् । उनी दैलेख भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य भएका थिए । उनी केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए ।

महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

गत राति ९ बजे मान्म बजारको आफ्नै दाइको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ ।

‘खाना खाएर सुत्न कोठा गएका थिए,’ सुवेदी होटलका सञ्चालक नमराज सुवेदीले भने, ’पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरू नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने आशंका गरे ।

जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले हराएको खबर आएपछि अनुसन्धान थालेको बताए । उनले उनका सौता रञ्जना शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए । डिएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ ।

मान्म बजारमा ‘शाहीजी इलेक्ट्रोनिक्स’ सञ्चालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न दिइएको थिएन । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकाले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने उनकी फुपु नाता पर्ने अर्मिता न्यौपाने बताइन् ।

उनकी पति र सौताको षड्यन्त्रमा बेपत्ता बनाइएको हुन सक्ने न्यौपानेको दाबी छ ।’ पहिले पनि दिनदिनै कुटपिट गरेर घरमा बस्न दिएनन्,’ उनले भनिन्, ‘अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।’ उनले दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएर पछि दोस्रो पत्नीका रूपमा स्वीकार गरे पनि हिंसा गर्दै आएको बताइन् ।

दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको सार्वजनिक भएको थियो ।

यहाँका प्रजिअ जोरासिंह माझीले आमाछोरा बेपत्ता भएको खबर आएकाले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य गरिरहेको छ ।

आमाछोरालाई बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै गीताका माइती पक्षका आफन्तले शुक्रबार

बिहानैदेखि मान्म बजारमा प्रदर्शन गर्दै शाहीको घरमा ढुंगामुढाको प्रयास गरेपछि प्रहरीले उनको मान्मस्थित घरमा सुरक्षा दिइरहेको छ । आफन्तले महिला र बालहिंसाविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । गिताका श्रीमान् दानबहादुरले तेरो बाबु पनि मारेको मैले हो तँलाई र तेरो छोरालाई पनी त्यसैगरी मार्छु भनेपछि उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । आफन्तहरू खोजी कार्य र दानबहादुरकी जेठी श्रीमतीको नाममा किटानी दिने तयारी थालेका छन् ।

स्थानीयका अनुसार दानबहादुर शाहीका भिनाजु पर्ने आफन्त मान्ममा भेटघाटका लागि आएको र मार्ने धम्की दिएपछि बेपत्ताका आफन्तले किटानी दर्ता गर्न माग गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय