काठमाडाैँ । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन् । सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासा र सुझाव वृद्धि भएको जनाइएको छ ।

आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्न र समाधान गर्न उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु भएको थियो । यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन गत भदौ १७ देखि चौबिसै घण्टा हेलो सरकार सञ्चालनमा छ ।

हेलो सरकारमा देश र विदेशका जुनसुकै स्थानबाट उजुरी, गुनासो र सुझाव लिन सकिने गरी निःशुल्क टेलिफोन सेवा र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सुशासन महाशाखाका प्रमुख सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले हेलो सरकार चौबिसै घण्टा सञ्चालनमा आएसँगै गुनासा तब्बरले बढेको जानकारी दिए ।

उपाध्यायका अनुसार दैनिक औसत ५० टेलिफोन र ४० वटा सामाजिक सञ्चार माध्यमबाट गुनासो आउने गरेकोमा पछिल्लो समय औसत १५० टेलिफोन र १२० वटा सामाजिक सञ्चारबाट गुनासी आउन थालेको छ । हेलो सरकार चौबिसै घण्टा सुरु भएको पछिल्लो १७ दिनमा मात्र दुई हजार ६५० वटा गुनासी लनमा टेलिफोनबाट दर्ता भएकाे समाचार गाेरखापत्रमा छापिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय