काठमाडौं। तामाङ भाषालाई नेपाली र अंग्रेजीमा यान्त्रिक अनुवादका लागि प्रारम्भिक अन्तरक्रिया सम्पन्न भएको छ ।  काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियर विभागको इन्फरमेसन एन्ड ल्यान्ग्वेज रिसर्च ल्याब(आइएलपिआरएल)ले सोमबार यस विषयमा अन्तरक्रिया गरेको हो ।

विभागका प्रमुख प्राध्यापक डा.बालकृष्ण बलले ‘इम्पावरिङ इन्फरमेसन एक्सेस राइट्स – डेभलोपिङ अ ट्रिलेङ्ग्वेएल मेसिन ट्रान्जिसन सिस्टम फर इङलिस, नेपाली एन्ड तामाङ‘ विषयमा प्रस्तुति दिँदै यान्त्रिक परियोजनाबारे प्रस्तुति दिएका थिए । ललितपुरस्थित बालकुमारीमा रहेको केयूको स्कुल अफ मेनेजमेन्टको हलमा सोमबार प्रस्तुति दिँदै प्राडा बलले शुरुमा एक लाख तामाङ शब्द, एक लाख नेपाली शब्द र एक लाख अंग्रेजी शब्द गरी तीन लाख शब्दको यान्त्रिक शब्दकोष तयार पारिने बताए । विभिन्न चरणमा परीक्षण गरी सरल र साझा शब्दहरुलाई प्रयोगमा ल्याउने गरी काम शुरु गरिने उनले बताए ।

गुगलको अनुदानमा शुरु भएको अनुवाद परियोजना आउँदो डिसेम्बर २०२५ सम्ममा सम्पन्न हुने आयोजकले जनायो । यसैगरी यो परियोजनाका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयकोसमेत सहयोग रहेको प्राडा बलले बताए ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कवीन्द्र नेपाल, तामाङ डाजाङका सम्पादक इन्द्र तामाङ, तामाङ न्हाङखोरका निस्नु थिङ,  इन्जिनियरिङ क्याम्पस पुल्चोकका अमन शाक्य, युएनडिपी एआई विभागका अमन श्रेष्ठलगायत एआई क्षेत्रका विज्ञ तथा भाषा विज्ञहरु सहभागी थिए । सहभागीहरुले तामाङ भाषाका लागि यान्त्रिक अनुवाद निकै उपयोगी हुने उल्लेख गर्दै तामाङ समुदायमा रहेको भाषाको विविधतालाई समेत समेट्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर