
ललितपुर, गोदावरी स्थित गोदावरी रेसिडेन्सीयल स्कुल (Godawari Residential School – GRS) को आयोजनामा गोदावरी नगरपालिका तथा गोदावरी साहित्य परिषद्को समन्वयमा “गोदावरी कला तथा साहित्य महोत्सव २०८१” भब्यताका साथ सम्पन्न भएको छ ।
यहि माघ १७ र १८ गते दुई दिनसम्म सम्पन्न भएको महोत्सवमा गोदावरी नगर पालिका भित्र रहेका विभिन्न सांस्कृतिक, साहित्यिक, र कलात्मक सम्पदाको शंरक्षण – प्रवर्धन एवं साहित्यिक प्रतिभाहरुलाई प्रोत्साहित गर्ने, विद्यार्थीहरूको सृजनात्मक क्षमता, साहित्यिक चिन्तन, र कलात्मक अभिव्यक्तिलाई प्रस्तुत गर्ने ठुलो अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा ललितपुर , काठमाण्डौका गरी झन्डै पचास हाराहारी विभिन्न स्कुलबाट छात्र छात्रा एवं साहित्यमा रुची राख्ने ब्यक्तित्वहरुको उत्साहजनक उपस्थिति रहेको थियो । महोत्सवको मुख्य उद्देश्य युवा -विद्यार्थी प्रतिभाहरूलाई प्रोत्साहन दिनु, समाजमा रहेका सांस्कृतिक भाषिक अभिव्यक्तिलाई बढावा दिनु, र नेपाली समृद्ध साहित्यिक परम्परालाई अगाडि बढाउनु रहेको साहित्य तथा कला महोत्सवका संयोजक उत्सव नेपालले बताए।
गोदावरी रेसिडेन्सीयल स्कुलका प्रिन्सिपल कुलदीप न्यौपानेले विद्यार्थीहरूलाई कक्षा कोठाभित्र मात्र सीमित नगरेर पठन संस्कृतिको विकाससंगै अतिरिक्त क्षमतालाई प्रस्तुत गराउन महोत्सव कोशेढुङ्गा सावित भएको बताए।
महोत्सवमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन,वरिष्ठ कवि तथा गीतकार मन्जुल,वरिष्ठ कवि कृष्ण प्रधान, प्राज्ञ तथा कवि डा. देवी नेपाल,समालोचक,कवी डा. महेश पौड्याल,लेखक , कथाकार डा. रत्नमणि नेपाल,नाटककार घिमिरे युवराज लगायतले आ-आफ्नो विधामा विज्ञता प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले कविता, कथा, चित्रकला, संगीत, नाटक र पठन संस्कृति सम्बन्धी थुप्रै विषयहरूमा प्रतिभा प्रदर्शन तथा विज्ञहरुसँग आ-आफ्नो जिज्ञासा राख्नु भएको थियो।
महोत्सवमा पुस्तक प्रदर्शन तथा नगरपालिका भित्र उत्पादित घरेलु सामानका व्यापारिक स्टल समेत राखिएका थिए।














